Logo
Logo

कपालको चाया कसरी हटाउने ?


डा. रेखा थापा


मानिसको सुन्दरतामा कपालको विशेष महत्व हुन्छ । आकर्षक कपालले सुन्दरतामा निखार ल्याउँछ । तर, उचित स्याहार नहुँदा कपालमा विभिन्न समस्या देखापर्छ । ति मध्ये एक हो, चाया । समयमै उचार नहुँदा चायाले धेरै सताउँछ ।

टाउकोको छालामा उत्पन्न हुने फुस्रो पत्रलाई चाया भनिन्छ । चाया फंगस (ढुसी)का कारण उत्पन्न हुन्छ । उक्त पत्र उप्किएपछि अनुहार र कुममा झर्दा नराम्रो देखिन्छ । लामो समयसम्म चाया रहँदा कपाल चिलाउने, पोल्ने, मसिना–मसिना घाउ बन्ने र कपाल झर्ने समस्या हुन्छ ।

कपालमा चाया आउनुको कारण उचित स्याहार नहुनु नै हो । गर्मीभन्दा चिसो याममा चायाको समस्या धेरै हुन्छ । चिसो मौसममा हेरचाहमा अल्छि गर्नु र धेरै टोपी वा स्कार्फको प्रयोग गर्नाले चायाको समस्या हुने गर्छ ।

कपालको उचित स्याहार नगर्दा र चाया भएका व्यक्तिको सामग्री प्रयोग गर्नाले चाया सर्छ । चाया फंगसबाट उत्पन्न हुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ ।

चायाका प्रकार
१. सुख्खा चाया
टाउकोको छाला धेरै सुख्खा हुनका साथै तातो पानी बढी प्रयोग गर्नाले सुख्खा चाया पर्ने गर्छ । सुख्खा चाया आउनाले कपाल चिलाउने र मसिनो दाना जस्तो घाउ बन्ने समस्या हुन्छ । र, फुस्रो पत्र अनुहार र कुममा झर्छ ।

२. चिल्लो चाया
छालामा रहेको तेल ग्रन्थीले चाहिनेभन्दा बढी तेल उत्पादन गर्याे भने छाला चिपचिप भएर फोहोर टाँसिन्छ । यस्तो अवस्थामा फोहोर भइ कपालमा चाया पर्छ ।

चाया पर्ने कारणहरु
१. उचित तरिकाले कपालको हेरचाह नगर्दा चाया पर्छ ।
२. कपालमा स्याम्फू प्रयोग गरेर राम्रोसँग सफा नगर्दा चाया पर्न सक्छ ।
३. चाया भएको व्यक्तिले प्रयोग गर्ने काँगियो र टावेल प्रयोग गर्दा चाया सर्न सक्छ ।
४. एण्टीवायोटिक औषधिहरुको प्रयोगले पनि चाया पर्न सक्छ ।
५. कपालमा प्रयोग गरिने सामग्री कडा केमिकलयुक्त हुँदा पनि चाया पर्न सक्छ ।
६. कब्जियत तथा ग्यास्ट्राइटिसको समस्या हुँदा पनि चाया पर्न सक्छ ।
७. अव्यवस्थित खानपान तथा जीवनशैलीले चायाको समस्या हुनसक्छ ।

चाया कम गर्न कपालको हेरचाह
– दैनिक रुपमा कपाललाई ब्रसले जराबाटै कोर्ने । यसले छालामा रक्तसञ्चार बढाउँछ र टाउकोको छाला स्वस्थ हुन्छ ।
– नुहाउँदा नियमित स्याम्फू प्रयोग गर्नुपर्छ । स्याम्फूमा केटोकोनाजोल तथा स्यालासलिक एसीड जस्ता तत्व हुन्छ । यसले छालाको मृतकोषिकालाई हटाउँछ र फंगस कम हुन्छ ।
– नियमित कपालको सफाई गर्नुपर्छ । टावल, ब्रस, काइयोहरु व्यक्तिगत प्रयोग गर्नुपर्छ ।
– व्यवस्थित खानपान र जीवनशैली अपनाउनु पर्छ ।

चाया हटाउन घरेलु उपचार
– नरिवलको तेललाई मनतातो बनाएर कपाललाई मालिस गर्नुपर्छ । यसले छालामा रक्तसञ्चार बढ्छ । टाउकोको मांशपेशीलाई सक्रिय बनाउँछ । तेलको पोषण कपाल तथा स्काल्पमा पुगी कपाल स्वस्थ हुन्छ ।
– अमिलो भएको दहीमा कागतीको रस मिसाई प्याक बनाएर कपालमा लगाउँदा पंmगस कम हुन्छ र चाया हट्छ ।
– चायाका कारण टाउकोको छालामा धेरै चिलाउने हुँदा ‘एप्पल साइडर भिनेगर’ लगाउँदा राम्रो हुन्छ । यसले कपाललाई स्वस्थ बनाउँछ ।
– नीममा ब्याक्टोरिया तथा फंगसविरुद्ध लड्ने गुण हुन्छ । त्यसैले नीमको प्याकलाई हप्तामा दुईपटक प्रयोग गर्दा चाया कम गर्न सकिन्छ ।
– कपालमा मेथीको प्रयोग फइदाजनक हुन्छ । मेथीमा पाइने प्रोटिनले कपाललाई पोषण प्रदान गरी स्वस्थ बनाउँछ र चाया हटाउन मद्दतगर्छ ।
– घिउकुमारीको जेललाई कपालको जरामा लगाउँदा राम्रो हुन्छ । घिउकुमारीको टुक्रा काटेर स्काल्पमा दलेर भित्रैसम्म जान दिनुपर्छ । यसले सुख्खा छालालाई नमी प्रदान गरी कपाललाई जरैबाट मजबूत बनाउँछ ।
– ‘टी ट्री’ ओयलको केही थोपा नरिवल वा तीलको तेलमा हाली मालिस गर्नाले चाया हट्छ । ‘टी ट्री’ ओयलमा ब्याक्टेरियासँग लड्ने क्षमता हुन्छ । यसले चिलाउने, पोल्ने, सुनिने समस्या कम गर्छ ।

माथि उल्लेखित घरेलु उपचार विधि प्रयोगगर्दा कपालको चाया कम गर्न सकिन्छ । तर, सबैमा समान परिणाम आउँछ भन्ने हुँदैन । यदि, चाया कम नभए, चिलाएर ठूलो घाउ भए वा अन्य समस्या देखिए चिकित्सकको सल्लाहमा उपचार गर्नु उचित हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्