Logo
Logo

सुखानी सहिद स्मृती दिवसः ओली र प्रचण्ड सहभागी हुँदै


- दृष्टि न्युज/संवाददाता



झापा, २१ फागुन ।

झापाको सुखानीमा पाँच कम्युनिस्ट योद्धाको हत्या भएको दिन आज सुखानी सहिद स्मृति दिवस मनाइँदैछ।


उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्। मंगलबार दुवै अध्यक्ष ओली र दाहालले सहिदहरूको नाममा एकै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।
४६ वर्षअघि कम्युनिस्ट आन्दोलका क्रममा सुखानी जंगलमा लगेर पञ्चायती शासकले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या गरेका थिए। हत्या भएको स्थानमा पाँचै सहिदको शालिक निर्माण गरिएको छ। हाल यो क्षेत्र झापाको अर्जुनधारा नगरपालिकामा पर्छ।

२०२८ सालमा पक्राउ गरेर झापाको चन्द्रगढी कारागारमा राखिएका उनीहरूलाई इलाम कारागारमा सार्ने बहानामा २०२९ साल फागुन २१ गते अर्थात् आजकै दिन हत्या गरिएको थियो। सोही दिनको सम्झनामा कम्युनिस्टहरूले सुखानी स्मृति दिवस मनाउने गरेका छन्।

यसका साथै केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमै संयुक्त श्रद्धाञ्जली कार्यक्रमसमेत रहेको नेकपा नेताहरूले बताएका छन्।

एकताअघि तत्काली एमाले र माओवादीले फरक दिन र फरक ठाउँमा यो दिवस मनाउने गर्थे। कार्यक्रमका लागि प्रचण्ड सोमबार नै झापा गइसकेका छन् भने प्रधानमन्त्री ओली आज जाने उनको निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्