Logo
Logo

कुखुराको मासुको मूल्य अकासियो


दृष्टि संवाददाता


काठमाडौं । कुखुराको मूल्य अकासिएकाे छ । पछिल्लो समय कोभिड–१९ को असरसँगै रानीखेत रोगले उत्पादनमा ह्रास आउन थालेको योभन्दा अघिनै व्यवसयीले बताउँदै आएका थिए ।

आपूर्ति घट्न थालेपछि जिउँदो कुखुरा र तयारी मासुको मुल्य भाउ उकालो लागेको व्यवसायीले बताएका छन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय पुगेको जनाएको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले मागका अनुपातमा उत्पादन कम भएको बताएका छन् ।

यसअघि संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ तोकेको थियो । पहिले प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । उत्पादनमा कमी आएपछि दिनदिनै मूल्य बढ्न थालेको हो ।

कुखुराको मूल्य बढ्दा यसको असर आम उपभोक्तामा परेको छ । संघले तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १५ रुपैयाँ निर्धारण गरेको छ । यसअघि सघंले मासुको मूल्य ४ सय १० रुपैयाँ तोकेको थियो । उक्त मूल्य अनुसार उपभोक्ताले प्रतिकेजी ४ सय ५० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

पोल्ट्री फार्मको क्षमताभन्दा एक चौथाइमात्र चल्ला उत्पादन हुन थालेपछि कुखुराको मूल्य बढ्न थालेको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टको भनाई छ । उनका अनुसार उत्पादनमा ह्रास आइरहेको कारण मुल्य बढेको हो ।

व्यवसायीका अनुसार बजारमा मासुको खपत भने घटेको छ । केही समयअघि कोभिड– १९ नियन्त्रण हुन थालेपछि उत्पादन बढ्ने देखिएको थियो । तर अहिले पुनः सबै देशमा कोभिड भएकाले उत्पादन घटिरहेको छ ।

यो सँगै चल्लाको मूल्य बढेर ८५ देखि ९५ रुपैयाँ पुगेको छ । पछिल्लो समय चल्ला, अण्डा, दाना र कुखुराको मूल्य बढने क्रमले निरन्तरता पाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्