Logo
Logo

मेलम्चीको पानी उपत्यकामा दैनिक १४ करोड लिटर


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ ।

आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।

दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए ।

‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्