बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि « Drishti News – Nepalese News Portal
Logo

बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि


दृष्टि संवाददाता


काठमाडौं । प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ ।

नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा  (गैँडाको बच्चा) लाई सौराहा ल्याएर विगत १५ महिनादेखि हुर्काउँदै आउनुभएका मोहद्रालाई दुई हप्ताअघि निकुञ्जभित्र बेवारिसे अवस्थामा भेटिएकी अञ्जलिलाई पनि स्याहार्ने थप जिम्मेवारी थपिएको छ । अञ्जलि पनि निकुञ्जमा बेवारिसे भेटिएकी गैँडाको केटाकेटी हो ।

“दलदलमा फसेर टाउको मात्रै देखिएको अवस्थामा भेटिएकी पुष्पालाई मैले नै उद्धार गरेर ल्याएर हुर्काएँ”, उनले भने, “पुष्पालाई हुर्काएको ज्ञानले अहिले मलाई अञ्जलि हुर्काउन सजिलो भएको छ ।” एघार दिनकी अञ्जलि निकुञ्जमा भेटिएकी हो । उनलाई निकुञ्जका कर्मचारीले बेवारिसे अवस्थामा भेटेपछि प्रकृति संरक्षण कोषको जिम्मा लगाएका हुन् ।

“यसरी भेटिने अनाथ गैँडाका केटाकेटीलाई हामी ठूलो नहुँदासम्म ल्याक्टोजिन खुवाएर हुर्काउने गर्दछौँ”, मोहद्राले भने, “अहिले पनि अञ्जलिलाई दुईरदुई घण्टाको फरकमा हामीले ल्याक्टोजिन खुवाउछौँ ।”

अविवाहित मोहद्रा विवाहपूर्व नै आफूले दुईवटा छोरी पाएको हँसिलो जवाफ दिन्छन् । “जङ्गलमा आमा गुमाएर बेवारिसे बनेका गैँडाका केटाकेटीलाई अहिले मैले नै हुर्काइरहेको छु । अहिले त ती केटाकेटी मेरै छोरी हुन् जस्तो माया लाग्न थालेको छ”, उनले भने ।, यो समाचार आजकोगोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्