Logo
Logo

खाने तेलको भाउ बढ्यो, सरकारी निकाय बेखबर


दृष्टि संवाददाता


काठमाडौं । बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ ।

बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ ।

यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ ।

नेपालका तेल उद्योगीले प्रशोधित तेल नेपालीको माग नै पूरा नगरी भारतमा निर्यात गर्दासमेत सरकारका नियमनकारी निकाय किन मौन र रमिते मात्रै बनेको अध्यक्षको आरोप छ । नेपालमा उत्पादन भएको तेल भारतमा निर्यात गर्ने अनि कच्चा पदार्थका कारण देखाउने यो कति व्यावहारिक हुन्छ ? उनले प्रश्न गरे।

यता थोक व्यापारीहरू भारतमा खाने तेलको भाउ आकाशिएकाले नेपालका प्रशोधित उद्योगीले नेपाली बजारमा आवश्यक तले भारत पठाउने प्रवृत्तिका कारण अहिले भाउ बढेको बताउँछन् । यता उद्योगी भने भारतमा तेल निर्यात गरेको कुरामा सत्यता नभएको दाबी गर्छन् ।

पछिल्लो पटक तेलको भाउ बढनुको कारण नेपाली उद्योगको नभएर विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ भाउ बढेका कारण महँगो भएको दाबी उनीहरूको छ । तेलको कच्चा पदार्थका विदेशमै परनिर्भरता हुनुपर्ने र विदेशमा बढेपछि नबढाई उपाय नै नभएको उद्योगीहरूको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले तेलको भाउ घटेको दुुई महिना नहुँदै पुन महँगो भएको तर यसको कारण खोज्नुपर्ने सरकारका जिम्मेवार नियमनकारी निकाय तेल उद्योगीको दबाब र प्रभावमा उपभोक्ताप्रति उदासीन देखिएको आरोप लगाए। बजारमा सरकारको उपस्थिति बलियो हुन नसकेका कारण बजार सीमित व्यापारी तथा उद्योगी नियन्त्रणमा हुने हुँदा बजारमा यस्ता समस्या आइरहने उनको भनाइ छ ।

बजार अनुुगमन गर्ने जिम्मेवारी पाएको सरकारको नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने पछिल्लो पटक खाने तेलको मूल्य वृद्धि भएको भन्नेमा बेखबर छ ।

विभागका महानिर्देशक प्रकाश पौडेल तेलको मूल्य वृद्धिबारे विभागलाई कुनै जानकारी नभएको बताउँछन् । बजारको वास्तविक अवस्थाको अनुुगमन गरेर साँच्चिकै महँगाएको पाएमा कानुनअनुुसार कारबाही गरिने उनको भनाइ छ । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्