Logo
Logo

उनी संगीतकर्मीको अविभावक थिए


एमपी सुब्बा



जोमसोममै बजारमा बाह्र बजे हावा सरर–२
ए हजुर घर हाम्रो पोखरा, अहिलेसम्म भा’छैन घरबार–२

उल्लेखित चर्चित गीतका गीतकार को हुन् ? भन्ने जब पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो, तबमात्र थाहा भयो उक्त गीत उनैले लेखेका थिए भन्ने कुरा । सायदै कमैलाई थाहा थियो कि, उक्त सदावहार लोकगीतको रचना रवीन्द्र अधिकारीले गरेका थिए ।
चर्चित लोकब्याण्ड ‘नेपथ्य–३’को ‘मिनपचास’ एल्बममा संग्रहित ‘जोमसोमै बजार’मा अहिले पनि युवापुस्तामाझ लोकप्रिय छ । नेपथ्यको भोकलिष्ट अमृता गुरुङलाई चर्चामा ल्याउन यस गीतले थप मद्दत गरेको थियो । तर, उक्त गीतको वास्तविक रचनाकार को हुन् भन्ने कहिल्यै खुलाइएन । सम्भवतः रवीन्द्र अधिकारीकै सल्लाहले हुनसक्छ । यु–ट्युबमा समेत उक्त गीतका रचनाकारको नाममा एकरुपता छैन । उक्त गीतलाई थुप्रैपटक यु–ट्युबमा अपलोड गरिएको छ । जसमा कुनैमा रक्षा गुरुङ उल्लेख गरिएको छ भने कतै केनेन्थ इमोण्डस् र एन्टोनियो एम. रैड उल्लेख छ । तर, ‘नेपथ्य ब्याण्ड’सँग नजिकाका जानकारका अनुसार उक्त गीत निर्माणमा रवीन्द्र अधिकारीको पनि देन छ । स्रोत भन्छ, ‘गीत उहाँले कोर्नु भएको हो, तर शब्दचयन गर्दा अरुको पनि संलग्नता भएकाले नाम उल्लेख नगरिएको हुनसक्छ ।’

त्यसो त स्व. मन्त्री अधिकारी राजनीतिकर्मी मात्रै थिएनन् । उनी साहित्यमा पनि उत्तिकै सक्रिय थिए । उनले ‘समृद्ध नेपाल’ र ‘द रोड टु प्रस्पर्टी’जस्ता पुस्तक प्रकाशन गरेका छन् । खासगरी मुलुकको विकासको सम्भाव्यताबारे लेख्ने स्व. अधिकारी कला र साहित्यप्रेमी त थिए नै, साथै उनी पनि कलाकारकामाझ लोकप्रिय थिए ।
‘जोमसोमै बजारमा’जस्ता चर्चित गीतका गीतकार पनि हुन् भन्नेचाहिँ कलाकारलाई सायदै कमैलाई थाहा थियो । तर, गत साउनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साहित्यिक कार्यक्रममा स्व. मन्त्री अधिकारीले भनेका थिए, ‘म पनि बेला बेला गीत तथा साहित्य लेख्ने गरेको छु । तर, अहिले समय नभएर लेख्न पाएको छैन ।’
उनै कला, साहित्यप्रेमी रवीन्द्र अधिकारीजस्ता व्यक्तित्वलाई संस्कृति मन्त्रीको रुपमा पाउँदा कलाकार खुसी भएका थिए । विशेषगरी संगीत क्षेत्रका कलाकारले मन्त्री अधिकारीलाई अविभावक ठान्थे । मन्त्री अधिकारी प्रायः कलाकारको हरेक कार्यक्रममा पुग्थे र कला क्षेत्रको समस्या बुझ्ने प्रयास गर्थे । यसरी नेपाली कला, साहित्य र संस्कृतिप्रति अटल चासो राख्ने देशकै होनहार युवानेताको असमायिक निधनले संगीतकर्मी तथा कलाकार स्तब्ध भएका छन् ।
गएको बुधबार हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको मृत्युको खबरले मर्माहित भएका कलाकारका लागि आखिर सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुबाहेक विकल्प रहेन । अधिकांश कलाकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली चढाए । उनीहरुले ‘कलाकारको मर्म र समस्या बुझ्ने देशको मन्त्री तथा होनहार नेता’ गुमाउँदाको पीडाले अझै छाडेको छैन । चर्चित संगीतकार तथा कलाकारले रोयल्टी पाउनुपर्छ भन्दै सधै आवाज उठाइरहने महेश खड्काले मन्त्री अधिकारीको असामयिक निधनले ‘कलाकारकाहरुको एउटा सपना टुटेको’ बताएका छन् ।
संगीतकार खड्काले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्, ‘हाम्रा अधिकारमा तिमीसँगै थियौ । हाम्रा सपनामा तिमीसँगै छौँ । सर्जकका ढुकढुकी संगीत रोयल्टीका अविभाबकको निधनले हामी सबै स्तब्ध भएका छौँ । हामी टुहुरो भएका छौँ । तर, रोयल्टी संकलनको बाटोमा काँडा हटाइ फूल छरेर सबै कलाकारको सुनौलो भबिष्य निर्माणका लागि गर्नुभएको योगदान कहिले पनि भुल्ने छैनौँ । तपाइँको बैकुण्ठमा बास होस् ।’
संगीतका कलाकारहरु रोयल्टीबारे आवाज उठाइरहेका बेला मन्त्री अधिकारीले साथ दिएका थिए । मन्त्री अधिकारीकै साथ र हौसलाले कलाकारहरुको रोयल्टी संलकन तथा प्रतिलिपि अधिकारलाई दरिलो बनाएका थिए । त्यसैले पनि मन्त्री अधिकारी प्रिय बनेका थिए ।
यस्तै, चर्चित गायक शिव परियारले मन्त्री अधिकारीको निधनले देशले नै एक कुसल युवा नेता गुमाएको भन्दै कलाकारले अविभावक गुमाएको जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पर्यटन मन्त्री रविन्द्र अधिकारी जस्ता नेता अब देशले पाउने कि नपाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चर्चित गायिका अञ्जु पन्तले मन्त्री अधिकारीलाई कलाकारहरुले कहिल्यै नविर्सिने बताएकी छन् । उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेकी छन्, ‘संगीतकर्मीहरूलाई रोयल्टी दिलाउन विषेश भूमिका खेल्नुहुने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन हुनुभएका सम्पूर्णमा हार्दिक समवेदना ।’ उनले स्व. मन्त्री अधिकारीको सपना साकार गर्न सरकारले पहल गर्नुपर्ने पनि बताएकी छन् ।
यस्तै, रोयल्टी संकलन समाज नेपालका अध्यक्षसमेत रहेका बरिष्ठ संगीतकार सुरेश अधिकारीले नेपाललाई रविन्द्र अधिकारी जस्तो नेताको आवश्यकता रहेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो एकाउन्टमा ‘‘कमरेड रविन्द्र, तिमी स्वर्ग नजाउ, फेरी नेपालमै आउ । अझै केही बर्ष तिम्रो खाँचो छ नेपालमा । यहाँ तिमीजस्ता धेरै रबिन्द्रहरु चाहिन्छ । के शब्दले मान्छौ तिमी ?’ उनले रवीन्द्र अधिकारीले संगीत क्षेत्रका लागि गरेको योगदानलाई कलाकारले कहिल्यै नबिर्सिने बताए ।
यस्तै, अभिनेत्री रेखा थापा, चर्चित लोकगायक बद्री पंगेनी, गायक स्वरुपराज आचार्यलगायतका गायक÷गायिकाले मन्त्री अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै आफ्नो ‘अविभावत्व’ गुमाएको बताएका छन् । यसैबीच स्व. मन्त्री अधिकारीको प्रोफाइललाई फेसबुकले ‘रिमेम्बरिङ’ गरेको छ । फेसबुक खोल्ने चर्चित व्यक्तित्वको मृत्यु भएमा प्रोइललमा फेसबुक कम्पनीले नै यसो गर्ने गरेको छ । र, अन्त्यमा तिनै चर्चित गीतको एउटा अन्तरा :
त्यो डाँडा ढाक्यो कुहिरोले
अझ पानी परेन लैबरी, लैबरी लै–२
दिल छुँडी लग्यो निष्ठुरीले
मनको बेथा बुझौँ न लैबरी लै–२

प्रतिक्रिया दिनुहोस्