Logo
Logo

टीएलपीको कब्जामा रहेका पाकिस्तानी प्रहरी मुक्त


दृष्टि संवाददाता


एजेन्सी । कट्टरपन्थी इस्लामिक पार्टीका समर्थकहरूद्वारा आइतबार बन्धक बनाएका सबै पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई सोमबार मुक्त गरिएको छ ।

फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि पाकिस्तानको लाहोर सहरमा प्रहरीलगायत अन्य केही सरकारी कर्मचारीलाई बन्धक बनाइएको थियो ।

उनीहरू सबैलाई आन्दोलनरत समूहसँगको छलफलपछि मुक्त गरिएको पाकिस्तानी गृहमन्त्री शेख रशिद् अहमद्ले सोमबार बिहान सञ्चारकर्मीलाई बताए।

तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहले लाहोरमा गर्दै आएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आन्दोलनकारीले प्रहरीको एक समूहलाई बन्धक बनाई स्थानीय मश्जिद्मा राखेको थियो ।

गृहमन्त्रीले ने, ‘आन्दोलनकारीसँग सम्वाद सुरू भएको छ । पहिलो चरणको सम्वादपछि बन्धक बनाइएका प्रहरीलाई मुक्त गरिएको छ भने थप छलफलहरूको तयारी भइरहेको छ ।’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार्ली हेब्दो पत्रिकालाई इस्लाम गुरू पैगम्बर मोहम्मदलाई चित्रण गर्ने कार्टुनहरू पुनः प्रकाशित गर्ने अधिकार रहेको अभिव्यक्ति दिएपछि उनीहरूले आन्दोलन गर्दै आएका हुन् ।

इस्लामिक उक्त समूहले फ्रान्सका राष्ट्रपतिको अभिव्यक्ति धेरै मुसलमानहरूले ईश्वरनिन्दा ठान्ने कार्य भएको ठहर गर्दै म्याक्रोँले आफ्नो भनाइप्रति आत्मआलोचना गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्