Logo
Logo

धरहरा तयार हुन अझै एक वर्ष लाग्ने, सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा


दृष्टि संवाददाता


काठमाडौं । ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्।

प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको काम सम्पन्न गर्ने तयारी गरेको छ। तर बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनी रमण निर्माणका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए।

उनका अनुसार ११ गते उद्घाटन गर्नुपर्ने भएकाले धराहराको उचाइको काम सकी हाल फिनिसिङको काम भइरहेको छ। ११ गतेसम्म राम्ररी फिनिसिङ सकिनेमा ठेकेदार कम्पनी आफैं आश्वस्त छैन।

धरहरा पुनर्निर्माण आयोजनाको हालसम्म ६१ प्रतिशतमात्रै काम भएको छ। धरहरा स्तम्भको भने ९८ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीमा अनुसार हालसम्म २ अर्ब १७ करोड बजेट खर्च भइसकेको छ। स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्।

यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।, यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्