Logo
Logo

प्रधानमन्त्रीले नै गरे आदेशको ठाडो उल्लङ्घन ! अब के हुन्छ सजाय ?

बालुवाटारमा तामझामका साथ ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ आयोजना


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा जारी गरिएको आदेशको ठाडो उल्लङ्घन गरेका छन् । नेपालमा कोरोनाभाइरस कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न सरकारले हिजो (सोमबार) मात्रै नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको थियो । तर स्वास्थ्यमापदण्ड जारी गरेको भोलिपल्टै प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यकै उपस्थितिमा बिहानै बालुवाटारमा तामझामले २५ भन्दा बढी मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरिएको छ ।

सोमबार ओलीकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने स्वास्थ्य मापदण्ड बनाएको थियो । सो मापदण्ड सार्वजनिक गर्दै उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने चेतावनी समेत सरकारका प्रवक्ता पार्वत गुरुङले दिएका थिए ।

सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थनाबाहेकका धार्मिक समारोहहरू नगरिने भनिए पनि प्रधानमन्त्रीले नै उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिने बताइन्छ ।

नयाँ स्वास्थ्य मापदण्ड अनुसार सार्वजनिक स्थानमा भिडभाड गर्न नपाइनेदेखि शिक्षण संस्था, रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय गरिएको छ । मन्त्री पार्वत गुरुङले ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने बताएका छन् ।

स्वास्थ्य मापदण्डमा जारी गरिएको आदेश अनुसार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने उल्लेख छ ।

तर देशको प्रमुखले नै सरकारी आदेशको उल्लङ्घन गरेका छन् । प्रधानमन्त्रीले पूजा गरेको ठाउँमा २५ भन्दा बढी मानिस सहभागी भएका छन् । काठमाडौंदेखि चितवनसम्म गरिने रथयात्रामा तामझाम र भीडभाड अरु बढ्ने देखिएको छ ।

नयाँ स्वास्थ्य मापदण्ड अरु के भनिएको छ ?

मास्क नलगाए जरिवाना
सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । सरकारका प्रवक्ता पार्वत गुरुङले यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ ।

रेष्टुरेन्टका लागि
सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै संचालन अनुमति दिएको छ । अब होटलमा बसेर खान नपाइने भएको छ । डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको छ ।

भेला हुन नपाइने
अबदेखि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइएको भएको छ । भौतिकरुपमा उपस्थित भएर सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड सरकारले ल्याएको छ । तर, सुरक्षा निकायको आन्तरिक भेला भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने सरकारले उल्लेख गरेको छ ।

मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतवन्ध, मलामी, अनुष्ठान क्रियाकलाप संचालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । अबदेखि सो भन्दा बढी भेला हुनै पर्ने बाध्यता भए डीसीसीएमसीको अनुमति लिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्