Logo
Logo

मन्त्री अधिकारीमा देश हाक्ने क्षमता थियो- पूर्वअध्यक्ष होटल एशोसिएसन अफ नेपाल (हान)


- दृष्टि न्युज/संवाददाता


रवीन्द्र अधिकारीको सबैभन्दा सबल पक्ष सकारात्मक सोच र कुशल नेतृत्व थियो । म अरु राजनीतिज्ञ र उहाँमा धेरै भिन्नता देख्थेँ । किनभने उहाँ विकासमा बढी जोड दिनुहुन्थ्यो । हुन पनि विकास नभएसम्म राजनीतिक व्यवस्थाको स्थिरता हुँदैन ।

प्रसिद्धबहादुर पाण्डे, पूर्वअध्यक्ष होटल एशोसिएसन अफ नेपाल (हान)

त्यसैले उहाँको जोड विकासमा थियो । संसद्को विकास समितिमा रहँदा उहाँले उल्लेखनीय काम गर्नुभएको थियो । मन्त्री हुनुअघि पनि उहाँले मेलम्ची खानेपानीको विषयमा निकै चासो र सरोकार राखेर आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुभएको थियो । सायद त्यसैले उहाँलाई पछिल्लोपटक प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी दिनुभयो । त्यो जिम्मेवारी पनि उहाँले कुशलतापूर्वक निर्वाह गरिरहनुभएको थियो । मन्त्री बनिसकेपछि उहाँले विमानस्थलहरूको स्तरोन्नतिमा धेरै खटेर काम गर्नुभयो । त्यसैले छोटो समयमै धेरै विमानस्थलमा सुधार देखिए । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै सुधार भयो । पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो प्रगति भयो । थुप्रै ‘डोमेस्टिक एयरपोर्ट’हरूमा रात्रि सेवा सुरु भयो ।
मन्त्रालय सम्हालिसकेपछि पर्यटन क्षेत्रको विकासमा उहाँको ठूलो चासो देखिन्थ्यो । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा दिन सकिन्छ भन्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो । त्यसैले सक्रियतापूर्वक लाग्नुभएको थियो । होटल संघको अध्यक्षको नाताले उहाँसँग पटकपटक भेटघाट र कुराकानी हुन्थ्यो । ती अधिकांश भेट पर्यटनको विकासमा केन्द्रित हुने गरेका थिए । ती भेटमा उहाँले व्यक्त गर्ने गर्नुभएका धारणा मेरो मानसपटलमा अझै ताजा छन् । उहाँले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएको भए नेपालको पर्यटन क्षेत्रले धेरै ठूलो फड्को मार्ने थियो भन्ने कुरा म निश्चिततापूर्वक भन्न सक्छु ।
पछिल्लो पटक उहाँसँग पोखरा वर्ष मनाउनुपर्छ भन्ने विषयमा कुराकानी भएको थियो । त्यसमा सहमत हुनुहुन्थ्यो । नेपाल पर्यटन वर्ष, विमानस्थल र एयरलाइन्सको क्षेत्रमा छोटो अवधिमै उहाँले ठूलो काम गर्नुभयो । पर्यटन क्षेत्रले मात्र होइन, उहाँबाट सिंगो देशले धेरै आशा गरेको थियो । सिंगो देशलाई नेतृत्व दिन सक्ने क्षमता उहाँमा देखिन्थ्यो । धेरै कम नेतामा मात्र मैले त्यस्तो गुण पाएको छु, जुन गुण उहाँमा थियो । तर, भवितव्य कसैले टार्न नसक्ने रहेछ । उहाँ छोटो समयमै जानुभयो । मैले साथीभाइ जस्तो असल व्यक्ति गुमाएँ । देशले एउटा ठूलो नेतृत्व गुमायो ।

प्रतिक्रिया दिनुहोस्