Logo
Logo

सङ्क्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् ।

आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

मन्त्री त्रिपाठीले कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताए ।

उनले आदेश पालना गरे मात्र कोभिड–१९ भाइरसलाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिए ।

‘सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्’, उनले भने, ‘आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।’

मन्त्री त्रिपाठीले कोभिड–१९ को सङ्क्रमणलाई हल्कारुपमा नलिन र हल्का ढङ्गले लिए सङ्क्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्