Logo
Logo

अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

बुधबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको भन्दै अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने उनले बताए ।

‘संक्रमण दर अत्यधिक बढेको छ। हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ,’ उनले भने, ‘अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस्।’

साथै, मन्त्रालयले सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा पनि सहभागी नहुन अपिल गरेको छ।

गएको २४ घण्टामा मात्र २ हजार ३ सय ५१ जनामा संक्रमण देखिएको छ। जुन गत तिहारपछि एकैदिन देखिएको सर्वाधिक बढी संक्रमण हो।

प्रतिक्रिया दिनुहोस्