Logo
Logo

बालबालिकामा ज्वरो आउनेक्रम बढे, अभिभावक चिन्तित


दृष्टि संवाददाता


तनहुँ । पछिल्ला दिनमा बालबालिकामा ज्वरो आउनेक्रम बढेसँगै अभिभावक चिन्तित बनेका छन् । अस्पताल एवं स्वास्थ्यचौकीमा रुघाखोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम पनि उत्तिकै बढेको छ ।

विद्यालयमा समूहगतरुपमा नै विद्यार्थीलाई ज्वरो आउनेक्रम बढेपछि अभिभावक थप चिन्तित बनेका हुन् । तनहुँको शुक्ला गण्डकी नगरपालिका– ७ स्थित शुक्ला आधारभूत विद्यालयमा एक सातअघि विद्यालयका १५ विद्यार्थीलाई एकैपटक ज्वरोको समस्या देखिएको थियो ।

विद्यालय प्रशासनबाट एकैपटक १५ जनालाई ज्वरो आएको जानकारी नगरपालिकाको शिक्षा शाखालाई आएसँगै यस सम्बन्धमा तत्काल स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराइएको शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिए ।

उनका अनुसार ज्वरो आएका विद्यार्थीको पिसिआर परीक्षणका लागि स्वास्थ्य शाखाले चासो देखाए पनि केही दिनपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको जानकारी आएको थियो । नगरपालिकाभित्रकै खैरेनी माध्यमिक विद्यालयमा करीब एक महीनाअघि एक शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्ला दिनमा शुक्लागण्डकीका क्षेत्रभित्रका केही विद्यालयमा बालबालिकालाई ज्वरोलगायतका स्वास्थ्य समस्या देखिन थालेको फाट्टफुट्ट सुनिने गरे पनि औपचारिकरुपमा भने त्यस्तो जानकारी नआएको उहाँले बताए ।

नगरपालिकाका स्वास्थ्य चौकी एवं केन्द्रमा पछिल्ला दिनमा रुघाखोकी तथा ज्वरोका समस्याका बिरामी भने बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

यस समयमा मौसमी रुघाखोकी तथा ज्वरो पनि आउनसक्ने भएकाले सजग रहन र विद्यार्थी तथा शिक्षकमा ज्वरोलगायतका समस्या भएमा आफूहरूलाई तत्काल खबर गर्न भनेको उनले बतए ।

पछिल्ला दिनमा कास्की जिल्लाका साथै आसपासका जिल्लाबाट रुघा, खोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम दिनप्रतिदिन बढिरहेको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका अधिकृत कृष्ण पौडेलले जानकारी दिए । बिरामी हुनेमा अधिकांश स्कुले विद्यार्थी तथा अन्य बालबालिका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्