Logo
Logo

एमालेमा सकारात्मक सन्देश


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।

मओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा हुनुभएको थियो । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उहाँहरूले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिनुभएको थियो । उहाँहरूबीच एकाएक भएको भेटवार्ताको समाचार सङ्कलन गर्न त्यहाँ पुगेका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मान्नु भएन भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उहाँ नजिक पुग्न सकेका थिएनन् ।

वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्कनुभएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकास र परिवर्तनका लागि त्याग र सङ्घर्ष गरेका दुवै ठूला नेताहरू राजनीतिको क्षेत्रमा परिपक्व भएकाले उहाँहरू मिल्दा देश र जनतालाई लाभ हुन्छ । उहाँहरू प्रफुल्लित मुद्रामा बाहिरिनुभएको तपाईँहरूले पनि देख्नुभएको छ । यो सकारात्मक सङ्केत हो ।”
, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्