Logo
Logo

ढुवानीमा मनपरीः सिपिङ कम्पनीले ४ गुणा बढाए भाडा !


दृष्टि संवाददाता


वीरगञ्ज । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् ।

गत असोजयता ७ महीनाभित्रै सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा वृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले बताए । अध्यक्ष लाठका अनुसार गत असोजअघि चीन र यूरोपेली देशबाट प्रतिकन्टेनर ढुवानी खर्च १ हजार ५ सय अमेरिकी डलरसम्म पर्ने गरेकोमा अहिले ६ हजार डलर पुर्‍याएका छन् ।

सिपिङ कम्पनीले यसअघि ४० फिटको कण्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहसम्म १ हजार ५ सय डलरमा ढुवानी गर्दै आएका थिए । ‘बन्दाबन्दीपछि उत्पादन र व्यापार ह्वात्तै बढेको मौका छोपेर सिपिङ कम्पनीले कन्टेनरको भाडा बढाए । यसबाट आयातित तयारी वस्तु र स्वदेशी उत्पादनको लागत बढेको छ,’ अध्यक्ष लाठको भनाइ छ ।

आयातित वस्तुमा ढुवानी खर्च बढेपछि उपभोक्ता मूल्य प्रभावित भएको व्यवसायीहरूको दाबी छ । अहिले खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

कोरोना महामारीको शुरुआतमा उत्पादन र व्यापार घटे पनि अवस्था सामान्य बन्दै गएपछि माग बढेको व्यवसायीहरू बताउँछन् । नेपालले गत असोजदेखि बन्दाबन्दी हटाएपछि तेस्रो मुलुकसँगको व्यापारमा पनि सुधार आएको छ ।

व्यापार बढेसँगै ढुवानीमा चाप परेको मौका छोपेर सिपिङ कम्पनीले भाडा बढाएको आयातकर्ता नवनीत अग्रवालले बताए ।

‘बन्दाबन्दीको समयमा बन्दजस्तै भएको व्यापार अवस्था सहज हुँदै जाँदा स्वाभाविक रूपमा बढेको थियो । यही मौकामा सिपिङ कम्पनीले भाडा बढाए,’ अग्रवालले आर्थिक अभियानसित भने, ‘यसबाट तयारी वस्तुमात्र होइन, कच्चा पदार्थ भित्र्याएर स्वदेशमै हुने उत्पादनको लागत पनि बढेको छ ।’ कन्टेनरको माग बढेपछि सिपिङ कम्पनीले प्रत्येक हप्ता भाडा बढाउँदै आएको आयातकर्ता ओमप्रकाश मोरको अनुभव छ ।

‘कोरोना महामारी र बन्दाबन्दीको बेला करीब ठप्प रहेको व्यापार पछिल्लो समयमा बढेको थियो । व्यापार बढेसँगै ढुवानीका लागि कन्टेनरको माग पनि बढ्यो । यसलाई सिपिङ कम्पनीहरूले कमाउने अवसर बनाए,’ मोरले भने ।

नेपालको समुद्रपार व्यापारलाई सहजीकरण गरिरहेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई भने कन्टेनरको भाडा बढेकोबारेमा जानकारी छैन । सिपिङ कम्पनीले भाडा बढाएको बारेमा औपचारिकरअनौपचारिक कुनै प्रकारको जानकारी नआएको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । ‘आयातकर्ताले अहिलेसम्म भाडा बढेको जानकारी दिएका छैनन् । यदि यस्तो समस्याबारे कसैले जानकारी दिनुभयो भने सहजीकरणमा हामी सधैं तत्पर छौं,’ पौडेलले भने ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्