Logo
Logo

बढ्न थाल्यो सुनको मूल्य, कारोबारमा छैन असर


दृष्टि संवाददाता


काठमाडौं । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो ।

यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला रू। ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला रू। ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

मंगलवार सुनको मूल्य प्रतितोला रू। ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर रू। ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘हामीले डलरमा नै सुन आयात गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः बढ्छ,’ उनले भने, ‘तर, अन्य मुलुकहरूमा भने यस्तो हुँदैन । अन्य मुलुकमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने सम्भावना हुन्छ । दक्षिण एशियाली मुलुकमा प्राविधिक रूपमा त्यो सम्भव छैन ।’ केही समयअघि ११६ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य अहिले बढेर १२० रुपैयाँभन्दा बढी भएको छ । यसरी डलरको मूल्य बढ्दा आयात महँगो हुन गई सुनको मूल्य बढेको हो ।, यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्