Logo
Logo

कोरोनाको त्रास : वैकल्पिक विधिबाट सिकाइ निरन्तरता


दृष्टि संवाददाता


काठमाडौं । बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ ।

सङ्क्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिहाल्नुपर्ने बताउनुभयो ।

कतिपय विद्यालयले मङ्गलबारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन् । सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ ।

विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ ।

अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले दिनुभयो । यसैबीच विद्यालयले भौतिक कक्षा सञ्चालन नगरे पनि पूर्वनिर्धारित परीक्षा तालिकालाई निरन्तरता दिन सक्ने छन् । पूर्वनिर्धारित तालिकालाई यसले कुनै असर नगर्ने र अब वैशाख महिनाभरका लागि भने नयाँ तालिका जारी गर्न नहुने
जनाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्