Logo
Logo
कोरोना संक्रमण

एकसातामा ४५.६१ प्रतिशतले कोरोना संक्रमण बढ्यो

रफ्तार बढ्दै गए असारसम्ममा ६ लाख पुग्ने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमणको दर बढेको छ । स्वास्थ्य मन्त्रालयको एक साताको तथ्यांकअनुसार नेपालमा ४५.६१ प्रतिशतले संक्रमण बढेको छ ।

१ सयमा पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ । बैशाखको पहिलो साता पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो । नेपालमा नयाँ भेरियन्ट सक्रिय बनेको छ । जसका कारण संक्रमण दर बढेको चिकित्सकहरु बताउँछन् ।

नयाँ भेरियन्ट पहिलेकोभन्दा खतरनाक रहेको छ । र यो छिटो फैलिने गर्छ । एक सातामा ४३ हजार ९ सय ९८ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार २२३ जनामा संक्रमण पाइएको छ ।

त्यस्तै, एन्टिजेन विधिबाट ४ हजार ५८८ जनामा परीक्षण गर्दा ५१८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण दर १६.३१ प्रतिशत रहेको पाइएको छ ।

एक सातामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ । सरकारले यही रफ्तारमा संक्रमण बढे असार अन्त्यसम्ममा संक्रमितको सख्या ६ लाख पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्