Logo
Logo

‘हामीले ओलीलाई वैधानिक ढंगले गलहत्याएकै हौँ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर नभएको बताएका छन् ।

बिहीबार १५०औँं लेनिन जयन्ती तथा ७१औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कमजोर भएका छैनौँ । माओवादी आन्दोलन, नेकपा माओवादी कमजोर भएको छैन् ।’ उनले यसबीचमा कार्यकर्ताको मनोभावना बुझ्ने कोसिस गरिरहेको बताए ।

 

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भएपनि एक तिहाइ लिएर बसेकाले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।

उनले भने, ‘हामीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौँ । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौँ । निकालेकै थियौँ पार्टीबाट वैधानिक ढंगले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’

उनले आफूहरु नभएर अरुहरु पराजित भएको बताए । ‘जसले प्रतिक्रान्तीको बाटो हिँडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुतमात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ’ अध्यक्ष प्रचण्डले भने ।

 

अध्यक्ष प्रचण्डले अहिलेको परिस्थितिलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, ‘फ्रान्सको पेरिस कम्युनपछि भनौँ वा सोभियत संघको विघटनपछि भनौँ । यस्ता थुप्रै उपक्रम भएजस्तै अवस्था छ अहिले । तर, हामी फेरि के देख्छौँ भने यो हाम्रो लागि एउटा ठूलो अवसर पनि हो ।’

उनले प्रतिक्रान्तिका विरुद्ध, प्रतिगमनकाविरुद्ध, अवसरवादका विरुद्ध लडेर राष्ट्र र जनताको कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने राम्रो अवसर पाएको बताए ।

संसदीय दलको नेताबाट पनि अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गर्दै भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट फालेकै हो । सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ?’

उनले शक्ति सन्तुलन त्यति आफ्नो पक्षमा नभएकाले विभाजन रोक्नै नसकिएको बताए । अध्यक्ष प्रचण्डले नेकपा एकता गरेर गल्ती भएको थियो कि भन्ने नसोच्न समेत आग्रह गरे । उनले भने, ‘हामीले एकता गरेर गल्ती गरेको होइन । विलकुल सही गरिएको थियो । तर, हामी पराजित भएकोचाहिँ होइन ।’

प्रतिक्रिया दिनुहोस्