Logo
Logo

कोरोना संक्रमणको अवस्था भयावह, अस्पतालहरुमा वेड पाउँनै छाडियो


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नै १२ हजारभन्दा बढी भएको छ ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार एक जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै बिहीबार थप पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २५२ जना सङ्क्रमित निको भएका छन् ।

त्यसैगरी राजधानीभित्रका जिल्ला काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी एक हजार १७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६९० पुगेको छ भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् । त्यसैगरी देशभरका विभिन्न अस्पतालका आईसीयूमा १७० र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको छ ।

अक्सिजन सिलिन्डरमा सहुलियत

यसैबीच देशमा कोरोना सङ्क्रमित बिरामीहरूको सङ्ख्या ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीलाई लक्षित गर्दै तत्काल थप २० हजार थान अक्सिजन सिलिन्डर ल्याउन व्यवसायीलाई सहुलियत दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मन्त्रालयले २० हजार सिलिन्डर ल्याउनका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए । उनले उद्योगीहरूलाई आवश्यक सहयोग गर्ने विषयमा छलफल भइसकेको जानकारी दिँदै सिलिन्डर ल्याउँदा व्यवसायीलाई सम्पूर्ण कर छुट दिने बताए ।

उनले भन्सार, मूल्य अभिवृद्धि करलगायतका करमा छुट दिने प्रस्ताव स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखी पठाइसकेको जानकारी दिए । प्रमुख विशेषज्ञ डा. पोखरेलले अहिलेसम्मको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमण उकालो लाग्ने क्रम नरोकिएकाले भोलिको परिस्थितिलाई ध्यान दिई २० हजार अक्सिजन ग्यास सिलिन्डर ल्याउनका लागि पहल भएको जानकारी गराए ।

सरकारले अक्सिजन ग्यास भर्नका लागि पनि आवश्यक सहयोग गर्ने पोखरेलको भनाइ छ । उनले अक्सिजन उत्पादन गर्दै आएका उद्योगहरूलाई अहिलेको उत्पादनलाई दोब्बर गर्न आग्रह गरेको जानकारी दिँदै कतिपय उद्योग बन्द रहेको, कतिपयले पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न नसकेकाले आवश्यक तयारी मन्त्रालयले गरेको बताए ।

अस्पतालमै जोखिम

कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ । राजधानीको वीर अस्पतालमा कार्यरत छ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरोनाविरुद्धको खोप पनि लगाएका थिए । वीर अस्पताल कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले सङ्क्रमितमध्ये छ जना चिकित्सक रहेको बताए ।

उनले सबैभन्दा बढी कोभिड आईसीयूमा कार्यरत चिकित्सक, नर्सलाई कोरोना देखिएको जानकारी दिए । यस्तै फार्मेसीमा कार्यरत फर्मासिस्ट, पारामेडिक्ससमेतलाई कोरोना पुष्टि भएको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्