Logo
Logo

नाकामा सतर्कता फितलो, हटस्पट बन्दै पर्सा


दृष्टि संवाददाता


वीरगन्ज । भारतसँगको खुला सीमाका कारण सहज आवतजावत र स्वास्थ्य मापदण्ड लागू गर्न सर्वसाधारण गम्भीर नहुँदा पर्सा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । स्वास्थ्य संस्थामा साधनस्रोतको अभाव छ, जसले संक्रमित बढ्दै जाने र मानवीय क्षति बढ्ने खतरा छ । युवा र बालबालिकासमेत संक्रमित भएपछि चिकित्सक पनि चिन्तित छन् ।

भारतमा भयावह रूप लिएको कोरोनाको असर सीमावर्ती जिल्लामा बढी छ । पर्सामा पनि संक्रमित हुने र ज्यान गुमाउने संख्या बढेको छ । नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार पछिल्लो समयमा अस्पतालमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नारायणी अस्पतालमा परीक्षण गराएकामध्ये पर्साका तीन सय २५ जना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेसँगै नारायणी अस्पतालमा गम्भीर बिरामी पनि बढेको डा। दासले बताए ।

उनका अनुसार बुधबारसम्म नारायणी अस्पतालको आइसियू र एचडियू कक्षमा गरी ३७ संक्रमित भर्ना छन् । अस्पतालको आइसियू र एचडियू वार्डको बेडक्षमता ४२ मात्र छ । बिरामी थपिँदै गए उपचारमा समस्या हुने अस्पताल प्रशासनको चिन्ता छ । अहिले जिल्लामा करिब तीन सय कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो एक हप्तामा पर्सामा मंगलबारसम्म सातजनाको मृत्यु भएको छ । जसमध्ये पर्साका पाँच र बारा र सर्लाही एक–एकजना छन् ।

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै चिकित्सकले स्थिति नियन्त्रणबाहिर जान सक्ने आशंका गरेका छन् । पछिल्लोपटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि रहेको र संक्रमण नियन्त्रणबाहिर जान सक्ने नारायणी अस्पतालका चिकित्सक डा। उदयनारायण सिंहले बताए ।

उनका अनुसार गत वर्ष कोरोनाको संक्रमणबाट बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर, नयाँ भेरियन्टले उनीहरूलाई पनि बढी प्रभाव पारेको उनको भनाइ छ । डा. सिंहका अनुसार अहिलेको संक्रमणले धेरैलाई चिन्तित बनाएको छ ।, यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्