Logo
Logo

भुइँमै सुताएर उपचार !


दृष्टि संवाददाता


रुपन्देही । अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।

दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ ।

अस्पतालको अति आवश्यक खर्च महिनामा १ करोड ७ लाख ९० हजार ५ सय भइरहेको वलीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए । ‘हामी ऋणमा काम गरिरहेका छौं ।

अब उधारोमा सामान पाउन गाह्रो हुन थाल्यो । अहिले अक्सिजनको अभाव हुन थालेको छ,’ उनले भने, ‘समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जान सक्छ ।’ बेड नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए ।

‘छिट्टै बेड नबढाए र आवश्यक सामान किन्न नसके अवस्था साह्रै भयावह हुन सक्छ । अक्सिजन र उपचार नपाएरै बिरामीको ज्यान जान सक्छ ।’ अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्ने अवस्थामा यति थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्