Logo
Logo

फेरि फुट्यो हिमताल, सतर्क रहन आग्रह


दृष्टि संवाददाता


काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । उत्तराखण्ड सरकारले भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको जनाएको छ ।

सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीको भनाई छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् ।

सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ । बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ ।

जोशीमठ-मलारी सडकखण्ड भने हिउँले ढाकिएको छ । त्यसैले केही व्यक्तिहरू फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेको सूचना आएकाले सतर्क रहन सूचना जारी गरिसकेका छन् । कुनै अप्रिय घटना नहोस् भनेर केही परियोजनाहरुमा रातिको समयमा काम नगर्न निर्देशनसमेत दिइएको उनले जानकारीसमेत दिएका छन् ।

भारतमा १० हजारभन्दा धेरै हिमताल रहेको बताइन्छ जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् । यसअघि उत्तराखण्डमै हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो भने केही बेपत्ता छन् । उक्त घटनामा केही नेपाली मजदुरहरु पनि परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्