Logo
Logo

कोरोनाबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्याले उनी सिकिस्त उनको उपचारकै क्रममा सिद्धिकीको शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डेले बताए ।

उनको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको थियो । सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद भएकी थिइन् ।

मुस्लिम महिलाको अधिकारका निम्ती उनी लामो समयदेखी संघर्षरत एक मात्र महिला हुन् । घरभित्रै सिमित रहने मुस्लिम महिलालाई बाहिर निस्केर बोल्न सक्ने बनाउनुमा उनकै योगदान रहेको चर्चा गरिन्छ । सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार परिवार र नेपाली सेनाको समन्वयमा अन्त्येष्टी गरिने बताइएको छ ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । बितेको २४ घण्टाभित्र भेरी अस्पतालमा उपचाररत अन्य ६ जना संक्रमितको मृत्यु भइसकेको छ । मृतक सबै बाँकेवासी हुन् ।

भेरी अस्पताल नेपालगन्जमा बाँके, खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि भर्ना भएको भोली पल्ट शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्