Logo
Logo

भारतमा कोरोनाले त्राहीत्राही: ८ दिनको अन्तरालमा एकै परिवारका ४ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक यतिबेला त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख छ ।

यसबीच महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै परिवारका चार जनाले आठ दिनको अन्तरमा ज्यान गुमाएका छन् । मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा रहेको समाचारमा जनाइएको छ । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार मृत्यु हुनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय छन् । उनीहरु एउटै घरमा बस्दै आएका थिए । तर बेड अभावमा उनीहरुको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरहरुका अनुसार सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । त्यसपछि छोराहरु श्यामसुन्दर र विजयले पनि संसार छाडे । श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ । उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरुको भनाइ छ ।

पुणे जिल्लाका अस्पतालहरुमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ । हालसम्म ११ हजार ७८० जनाको मृत्यु भइसकेको छ । जिल्लामा मृत्यु दर १.५४ प्रतिशत र संक्रमणबाट मुक्त हुने दर ८५।११ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्