Logo
Logo
स्वास्थ्य संकट

कोरोनाको त्रास: ९ जिल्लामा निषेधाज्ञाको तयारी

एकैदिन २८ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही जिल्लाहरुमा निषेधाज्ञा गर्ने तयारी गरेको छ ।

आइतबार बसेको सीसीएमसीका बैठकले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय कोरोना संक्रमित भेटिएको अवस्थामा निषेधाज्ञा गर्न सकिने बताएको छ ।

सीसीएमसीले निशेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ भने यो निर्णयसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने सम्भावना बढेको छ ।

काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ। अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ।

त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन्। सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।

एकैदिन २८ जनाको मृत्यु
नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार कोरोना संक्रमणका कारण एकैदिन २८ जनाको मृत्यु भएको छ । यो नेपालमा कोरोना शुरू भएयताकै मृत्यु भएको उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको हो ।
आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख ११९ मा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् ।

तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्