Logo
Logo

धमाधम सरकारी भवन निर्माण, कहाँ-कहाँ हुँदैछ निर्माण ?


दृष्टि संवाददाता


काठमाडौं । सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।

त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र निकायबाट बारम्बार हुने गरेको अनुगमन, प्रगति समीक्षा तथा सहजीकरणका कारण विशेष भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म यी भवन निर्माणमा दोस्रो चरणको कोभिड–१९ को महामारीको प्रभाव नपरेको स्पष्ट पार्नुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार प्रधानमन्त्रीको सरकारी आवास निर्माण माघसम्मको समष्टिगत भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उहाँले निर्माणाधीन दुई भवनमध्ये प्रधानमन्त्रीको निवास साउनसम्म निर्माण गरी प्रधानमन्त्री निवास स्थानान्तरण गर्ने जानकारी दिँदै अर्को निर्माणाधीन सार्वजनिक भवन दशैँसम्म निर्माण सम्पन्न हुने बताउनुभयो ।

गोदावरीमा निर्माणाधीन सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । उहाँले यसको मुख्य निर्माणको काम सम्पन्न भइसकेको छ र साजसज्जा, रङरोगन, हरितीकरणलगायतका काम मात्र बाँकी रहेको जानकारी दिनुभयो । वैशाखको दोस्रो हप्तासम्म यस सभाहलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । उहाँका अनुसार जेठको पहिलो हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस सभाहलको उद्घाटनको तयारी भइरहेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्