Logo
Logo

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, ८० स्वास्थ्यकर्मी पठाइँदै


दृष्टि संवाददाता


काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरूको अभाव भएको छ । सिंगो जिल्ला नै कोरोना भाइरसको चपेटमा परिरहँदा र संक्रमितको संख्या बढीरहँदा अस्पतालमा १२ जना चिकित्सकले नै सेवा दिइरहेका छन् ।

भेरी अस्पतालमा कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरू प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिए पनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ ।

यता, अस्पतालले भने तत्कालका लागि ३० जना चिकित्सक, १ सय ५० जना नर्सिङ स्टाफ र २० जना कन्सल्टेन्टको आवश्यकता रहेको बताएको छ । अस्पतालका डा. प्रकाश थापाका अनुसार स्वास्थ्यकर्मी अभाव भएको स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ ।

यस्तै, मन्त्रालयले हाल ८० जनाको भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको समेत डा. थापाले बताए ।तर, भर्ना प्रक्रियाका लागि भने केही दिन समय लाग्ने देखिएको छ ।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्