Logo
Logo

कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

अस्पतालमा अक्सिजन शय्या र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बिमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्