Logo
Logo

वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन


दृष्टि संवाददाता


काठमाडौं । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ ।

वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्यो ।

वैशाखका शुरुआती २ सातामा कर्जा प्रवाहमा समेत उतारचढाव आएको छ । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो साता ८ अर्ब रुपैयाँले घटेर रू। ३५ खर्ब ६५ अर्बमा सीमित थियो । तर, दोस्रो सातामा भने सुधार देखियो । कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढ्दा कुल कर्जा ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले बताएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल निक्षेप संकलन प्रभावित हुनुको कारण कोभिडको दोस्रो लहरभन्दा पनि निक्षेपकर्ताहरू अन्य समूहको बैंकमा स्थानान्तरण भएको बताउँछन् ।

‘कोभिडमा खाद्यान्न अभाव होला भनेर किन्न ग्राहकले बैंकबाट निक्षेप झिकेका होइनन् । डिजिटल बैंकिङले गर्दा पनि नगद झिक्नुपर्ने अवस्था छैन,’ उनले भने ‘कतिपय विकास बैंकले राम्रो ब्याजदर दिएका छन् । कतिपय ग्राहकले नगद झिकेर वित्त कम्पनी, सहकारीमा समेत निक्षेपमा राख्न लगेको देखियो ।’, यो समाचार आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्