Logo
Logo

कालोबजारीले घरमै पनि उपचार गर्न कठिन !


दृष्टि संवाददाता


काठमाडौं । भारतका राजधानी नयाँ दिल्लीसहित अन्य सहरका अस्पतालमा शय्याको अभाव भएपछि बिरामीहरू घरमै बसेर उपचार गर्न बाध्य भएका छन्। आवश्यक औषधि तथा अक्सिजन सिलिन्डरको कालोबजारी बढेको छ भने प्रमाणित नभएका औषधि बजारमा देखिन थालेका छन्।

सोमबार भारतमा ३ लाख ५२ हजार ९ सय ९१ कोरोना बिरामी थपिएका छन्। भारतमा लगातार पाँच दिनसम्म संक्रमितको संख्या ३ लाख नाघेको छ। नयाँ दिल्लीनजिकै नोयडा सहरकी स्थानीय अन्सु पटेलले बिग्रँदो स्वास्थ्य भएका आफ्ना ससुराका लागि अस्पतालमा शय्या पाउन सकिनन्।

आइतबार दिनभर अक्सिजन सिलिन्डरको खोजी गरे पनि उनले भेट्टाइनन्। अन्ततः उनले कालोबजारमा ५० हजार भारतीय रूपैयाँ तिरेर एउटा सिलिन्डरको जोहो गरिन्। यो सिलिन्डरको मूल्य यसअघि ६ हजार रूपैयाँमात्र थियो।

दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्को मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको ज्यान गएको छ।

बिबिसीले अक्सिजन सिलिन्डरका आपूर्तिकर्तालाई फोन गर्दा धेरैजसोले सामान्य मूल्यभन्दा १० गुणा बढी मागेका थिए। विशेषगरी भारतको राजधानी नयाँ दिल्लीमा सघन उपचार कक्षमा शय्याको अभाव रहेकाले निकै कठिनाइ भइरहेको छ।

डाक्टर र नर्सको सेवा घरमै लिन सक्नेले घरमै बोलाएर परिवारजनको उपचार गरिरहेका छन्। तर रगतको जाँच, सिटी–स्क्याान र एक्सरे गर्न उनीहरूले संघर्ष गर्नुपरिरहेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्