Logo
Logo

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा टेबुलमा


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबुल भएको छ। गण्डकी प्रदेशसभाको सोमबार सुरु भएको विशेष अधिवेशनको पहिलो बैठकमा प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वास प्रस्ताव टेबुल गरेका हुन्।

नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्र्रतिगामी कदमको बचाउ गर्न प्रदेश सरकार मतियार बनेकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताए। बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग जोडेर संसद् विघटन गर्नु जायज छ भन्दै असंवैधानिक र प्रतिगामी कदमलाई मुख्यमन्त्री गुरुङले पुष्टि गर्न खोजेको समेत उनले आरोप लगाए।

नेता नेपालीले मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक मूल्य र मान्यता बिर्सिएको आरोप लगाए। ‘मुख्यमन्त्रीमा अलिकति पनि लोकतान्त्रिक संस्कार भएको भए दल विभाजित भएलगत्तै विश्वासको मत लिनुपथ्र्यो तर उहाँले त्यसो गर्नुभएन। नत्र अल्पमतमा परिसकेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपथ्र्यो, त्योपनि उहाँले गर्नुभएन,’ उनले भने। दल विभाजन भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्नेमा नलिएकाले वर्तमान सरकार असंवैधानिक भएको उनको दाबी थियो।

वर्तमान सरकार रहिरहे चुनौती र समस्या थप गम्भीर बन्दै जाने र यो क्रम निरन्तर रहे ठूलो क्षति बेहोर्नुपर्ने अवस्थाबाट उन्मुक्तिका लागि पनि अविश्वासको प्रस्ताव ल्याएको उनको प्रष्टोक्ति थियो।

नेता नेपालीले मुख्यमन्त्री अविश्वासको प्रस्तावबाट समेत भागेको आरोप लगाए। चलिरहेको अधिवेशन नै अन्त्य गरिदिएपछि बाध्य भएर समावेदनमार्फत विशेष अधिवेशन बोलाउनुपरेको भन्दै उनले थपे, ‘मुख्यमन्त्रीले लोकतन्त्रको कुरा धेरै गर्नुहुन्छ तर अविश्वासको प्रस्ताव फेस गर्न छाडेर अधिवेशन नै अन्त्य गर्नुभयो, यो अलोकतान्त्रिक कदम हो। यसमा हाम्रो घोर आपत्ति छ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्