Logo
Logo

गर्मी बढेसँगै खानपिनमा ध्यान दिन चिकित्सकको सुझाव


हिक्मत बम


धनगढी । गर्मी बढेसँगै मौसमी बिरामीहरु बढ्दै जान थालेका छन । दिनपछि रात भनेजस्तै समय परिवर्तन हुन्छ । समय परिवर्तनको चक्रसँगै जाडो मौसमपछि, गर्मी मौसम र गर्मी मौसमपछि वर्षा मौसम आउने गर्दछ ।

जलवायु परिवर्तनसँगै मौसम र वातावरण परिवर्तन हुन्छ । मौसम र वातावरण परिवर्तन भएसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने गर्दछ । बसन्त ऋतु अथात् गर्मी महिनालाई मानव स्वास्थ्यका दृष्टिले अतिनै संवेदनशील मानिन्छ ।

यो मौसममा खानेकुरा गार्मीका कारणले छिटो सड्नेगल्ने भएकाले र खानेकुराहरु सडेगलेको थाहा नपाउनाले मानव स्वास्थ्यका दुष्टिले गर्मी मौसम अति नै सम्वेदनशील मानिन्छ । यो मौसममा मानव स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण मानिने तरल पदार्थ पानी शुद्ध नपाउनाले पनि मानिसको शरीरमा लाग्ने ८० प्रतिशत रोगहरु शुद्ध पानीको कमीले लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।

यो मौसममा सडेगलेका खानेकुरा खाँदा, सरसफाइमा ध्यान नदिँदा, खानेकुरा र फलफूलहरु छिटो सड्नेगल्ने भएकाले ती खानेकुराहरु जथाभावी खानाले र पानीजस्ता कुरामा ध्यान नदिँदा रोगले आक्रमण गर्ने चिकित्सकहरुले बताएका छन । बासी, सडेगलेका फोहोर खानेकुरा र फोहोर पानीको प्रयोगले यस समयमा रोग लाग्ने गर्दछ ।

यो मौसमको सुरुवातमै टाइफाइड, प्याराटाइफाइड, जन्डिस, हैजा, झाडापखाला, पोलियो, जुका, जापनिज इन्सेफलाइटिस, औलो, कालाज्वर, तथा हेपाटाइटिसजस्ता रोगहरू देखापर्ने गरेको सेती प्रादेशीक अस्पताल धनगढीका मेसु तथा सुपरिटेण्डेन डाक्टर हेमराज पाण्डेले जानकारी दिए । उनले भने, ‘यो मौसममा खानेपानीको अभाव हुने भएकाले शुद्ध पिउने पानी पाउन कठिन हुन्छ । यदि पानी मिलिहाल्यो भनेपनि शुद्ध हुँदैन । त्यसैले खानेपानी उमालेर खाँदा यस्ता समस्या ८० प्रतिशतले आफंै कम हुन्छ ।’

हाम्रो देशमा गर्मी मौसममा देखापर्ने जनस्वास्थ्य समस्या खासगरी सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्ला बस्ने मानिसहरुमा देखापर्ने र उनीहरुले खानपिनमा त्यति ध्यान नदिदा बिरामी हुनपर्ने अवस्था रहेको मेसु पाण्डेले बताए । उनले भने, ‘पहाडी जिल्लाका जनताहरुमा गरिबी, विपन्नता, अशिक्षा, पोषणयुक्त खानाको अभाव, प्रशस्त खाना खान नपाउनु, सरसफाइ तथा हेरचाहको अभाव हुने भएकाले गर्मी मौसममा उनीहरु बढी बिरामी हुने गर्दछन ।’

उनले पहाडी क्षेका मानिसहरु बिरामी हुँदापनि उपचारका लागि स्वास्थ्य संस्थामा नजाने गरेकाले रोगहरुले यो बेला महामारीको रूप लिने बताउनु भयो । उहाँले भने, ‘यस मौसममा हुने सरुवा रोग केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । र गर्मी मौसममा धेरैजसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पु¥याउँछ ।’

विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौँ पचाउन नसकिने खाद्य पदार्थ चिल्लो खानेकुराले फुड प्वाइजनिङ हुने बताउँदै यो समयमा खानेकुरामा ध्यान दिन सर्वसाधारण सबैलाई सुझव दिएका छन् । यो मौसमका बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ ।

सुपरिटेण्डेन डाक्टर पाण्डेले भने, ‘यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजन सम्बन्धी स्वास्थ्य समस्याहरू देखापर्दछन् । वान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । यस्तो पखाला पुरानो कोलाइटिस, अपच, तीव्र चिन्ता, काँचोकचिलो, बासी खानाले नै लगाउँछ । जसमा दूषित खाना, पानी र फोहर हातद्वारा विषाणु, जीवाणु र परजीवी एकबाट अर्को व्यक्तिमा सर्दछन् ।’

अरू समयको तुलनामा गर्मी तथा वर्षामा तराईतिर बढी लामखुट्टे लाग्छन् । जसले गर्दा उच्च र तीव्र ज्वरो हुने डेँगु, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी, सेन्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ ।

लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन । जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्दछ । लामखुट्टेको बच्चा, लामखुट्टे तथा परजीवी नाश गर्न, लामखुट्टेको टोकाइबाट बच्न जनचेतनामा अभिवृद्धि गरी उपरोक्त महामारीलाई रोक्न सकिन्छ ।

गर्मी तथा वर्षायाममा विभिन्न किसिमका रोग लाग्ने भएकाले यो बेला खानपिनमा ध्यान दिन चिकित्सकहरुले अनुरोध गरेका छन । उनीहरुले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै बेस भन्दै सचेत हुन आग्रह समेत गरेका छन । गर्मी र वर्षातको समयमा लाग्ने रोग जुनसुकै उमेर, वर्ग तथा तप्काका मानिसमा लाग्ने भएकाले स्वास्थ्यप्रति सचेत हुन जरुरी छ । जसका लागि भोजनमा सर्तकता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको किटाणुरहित पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुन पानीले हात धुनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्