Logo
Logo

महाकाली अस्पतालमा अक्सिजन अभाव


दृष्टि संवाददाता


कञ्चनपुर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् ।

अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए । ‘आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ’, डा रोकायाले भने, ‘सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ ।’ पचास श्ययाको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ ।

त्यसैगरी सोमबार राति भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ ।

त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्