Logo
Logo

काठमाडौंकै अस्पतालमा बेड अभाव


दृष्टि संवाददाता


काठमाडौं । अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्।

बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ। पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म सबै १ सय ४४ वटा बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन्।

बेड खाली नभएपछि नाम लेखाएर कतिपय बिरामीलाई पखाईमा समेत राखिएको असपतालका डाक्टर विमल पाण्डले जानकारी दिए। दैनिक ४ सय जना बिरामी अस्पतालमा भर्ना हुन आए पनि अक्सिजन दिनुनपर्ने बिरामीलाई सामान्य चेकअपपछि फिर्ता पठाउने गरिएको उनको भनाइ छ। अक्सिजनसमेतको अभाव भएपछि अस्पतालमा त्रास पैदा हुन थालेको उनले बताए।

चिकित्सकले मात्रै बिरामीको सबैखाले रेखदेख गर्न नसकेकाले कुरुवालाई समेत सँगै बस्न दिन थालिएको चिकित्सकको भनाइ छ। अस्पतालमा भीडभाड बढ्न थालेकाले अब कुरुवालाई बिरामीसँगै राख्न नदिइने एक चिकित्सकले बताए। उनका अनुसार गम्भीर प्रकृतिका र शारीरिक रूपमा कमजोर भएका बिरामीसँगै कुरुवा पनि राख्ने गरिएको छ।

वीर अस्पतालका ९० वटा बेडमा कोभिडका बिरामी राखिएको छ। ठाउँ अभावका कारण कतिपयलाई पर्खाइमा समेत राखिएको अस्पताल स्रोतले जनाएको छ। त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसीले कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल क्षेत्र अस्तव्यस्त बनेको बताए। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्