Logo
Logo
कोरोनाको दोस्रो लहर

‘बाँके नबौरिए धेरैको प्राण हर्ने निश्चित छ’


प्रदीपराज दाहाल


काठमाडौं । बाँके नेपालगञ्जमा यतिबेला तापक्रम जसरी उकालो लाग्दै छ, त्योभन्दा कठिन स्थिति स्वास्थ्य संकटले थपिदिएको छ । नयाँ वर्ष सुरु भएसंगै नेपालगञ्जले पुरानै कोरोना संकट नयाँ रूपमा भोग्नुपर्यो । २०७७ चैत सुरु हुन्जेलसम्म नेपालगञ्जको माहौल सामान्य थियो । तर, चैतसँगै नेपालगञ्जमा कोरोना कहर सुरु भयो ।

कोरोना नियन्त्रण गर्न अहिले लकडाउन गरिएको छ । भारतसंग सीमा जोडिएको हुँदा कोरोना नियन्त्रणमा कठिनाइ झेलिरहेको छ, नेपालगञ्ज । नेपालगञ्ज क्षेत्रमा अहिले नेपाल–भारत नाकादेखि अस्पतालको ढोकामा अलपत्र परेका कोरोना संक्रमित भेटिन्छन् । भेरी अस्पतालमा त उपचार पाउनै मुस्किल छ । त्यसमाथि सीमित जनशक्तिमा सेवा दिइरहँदा बिरामीको थामि नसक्नुको आक्रोश र चित्कारले सिंगो नेपालगञ्ज त्रसित बनिरहेको छ ।

प्रज्वल ओझा (नाम परिवर्तन)लाई अचेल मृत्युको भयले धेरै सताउँछ । थाकेको अनुहार लिएर उनी भेरी अस्पतालको प्राङ्गणमा छन् । उनी अस्पतालको शय्या कतिखेर खाली होला भनेर कुरिरहेका छन् ।

अस्पतालको आइसोलेसमा पुगेपछि डाक्टर र नर्सको व्यवहार सम्झेर उनको मन झन पोल्छ । संक्रमित हुने वित्तिकै अस्पताल पुगेका उनलाई डाक्टरले जबरजस्ती डिस्चार्जको कागज थमाईदिए ।

अहिले उनलाई अलि बढी खोकी लाग्न थालेको छ । स्वास फेर्न गाह्रो भएपछि फेरी भेरी अस्पतालको प्रांगण सम्म आईपुगेका छन् । तर, अस्पतालमा न शय्या खाली छ, न त उनले भरपर्दो स्याहार पाएका छन् ।

बुधबार मात्रै बाँकेमा ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैशाख यता २४ घण्टा संकलन गरिएको नमुनामा मंगलबार बाँकेमा रेकर्ड कायम भयो । संक्रमितको संख्या बढेपनि अस्पताल संग भने प्रर्याप्त स्रोत साधन छैन । जस कारण विरामीको उपचारमा लापरवाही भइरहेको छ ।

२०७८ बैशाख सुरु भएसंगै बाँकेमा कोरोना संक्रमित ह्वात्तै बढे । उपचार गर्ने प्रयाप्त जनशक्ति र आवश्यक उपकरण छैनन् भन्दै अस्पताल विकास समितिले तत्कालिन अवस्थामा विरामी भर्ना लिन समेत मानेन ।

१ सय ४२ शय्याको कोभिड वार्ड निर्माण भएपनि जनशक्ति अभावकै कारण ७० शय्यामा मात्रै भर्ना लिइयो भने २४ जनालाई मात्रै आईसीयुमा राखियो । त्यस लगत्तै सुरु भएको कोरोना माहामारीको विनाशकारी शिलशिला बढेको बढ्यै छ ।

कोरोना संक्रमणको पहिलो लहरका बेला सबैभन्दा पहिले हटस्पट बनेको बाँके संक्रमणको दोस्रो लहरका बेला पनि सबैभन्दा बढी जोखिममा छ ।

अस्पतालले बितेको ४ दिन यता लक्षणसहितका संक्रमितको चाप बढेपछि शय्यासंख्या २ सयमा पुर्याएपनि शय्या अपुग भएको छ । हाल ९ जना भेन्टिलेटरमा र ५२ जना आईसीयुमा छन् ।

अस्पतालमा नर्सिङ्ग तथा प्यारामेडिसियन जनशक्ति अत्यन्त न्यून रहेका कारण गुणस्तरिय सेवा प्रवाह गर्न नसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयबाट कोभिडको महामारी भरी सेवा दिनको लागि विभिन्न तहका ८० दरबन्दी थप भएर आएको छ ।

अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई हाईफ्लो अक्सिजन आवश्यक पर्ने भएकाले अत्यधिक मात्रामा अक्सिजनको खपत समेत भईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

बाँकेमा कोभिड संक्रमणको चाप अप्रत्याशित बढ्दै जाँदा अक्सिजन सहितको शय्या नेपालगन्ज उपमहानगरले बनाउन सुरु गरिसकेको छ । नेपालगञ्जकी उप–प्रमुख उमाथापा मगरले अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य सुरु भइसकेको बताईन् ।

५० शय्याको अक्सिजनसहित आइसोलेसन नेपालगञ्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप–प्रमुख थापा मगरले बताइन् । आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने दावी गरिएको छ ।

अस्पतालमा अत्यन्त जटिल बिरामीमात्र राखेर सेवा दिने बाताबरण बनाउनको लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले गत सोमबार आकस्मिक बैठक बसेर प्रत्येक पालिका तहमा ५० शय्याको अक्सिजन सुबिधा सहितको शय्या सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सीमा नाकामा होल्डिङ सेन्टरको स्थापना गरिसकेको छ । संक्रमित नै भनिरहेका छन् ‘बाँके नबौरिए यसले धेरैको प्राण हर्ने निश्चित छ’ ।

 

प्रतिक्रिया दिनुहोस्