Logo
Logo

कतै आइसीयू र भेन्टिलेटर अभाव, कतै जनशक्ति नहुँदा थन्किए


दृष्टि संवाददाता


अछाम । कोरोना संक्रमण नियन्त्रणका लागि ४ महिनाअघि अछाम ल्याइएका भेन्टिलेटर र आइसियु उपकरण अस्पातलमै थन्किएका छन् । जिल्ला अस्पताल अछामका लागि ल्याइएका ती उपकरण जनशक्ति अभावमा सञ्चालन हुन नसक्दा थन्किएका हुन् ।

सरकारले जिल्ला अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरे पनि अस्पतालमा गम्भीर खाले बिरामीका लागि गरिनुपर्ने उचित स्रोत–साधन नहुँदा उपचार नभएर अन्यन्त्र रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल अछामले जनाएको छ ।

गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई राखेर उपचार गर्नुपर्ने भेन्टिलेटर र आइसियु सञ्चालका लागि ल्याइएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा बिरामीलाई धनगढी, नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डा। अतुल भारद्वाजले बताए ।

‘भेन्टिलेर र आइसियुका लागि उपकरण पठाइए पनि सञ्चालनका लागि आवश्यक जनशक्ति नपठाउँदा ४ महिनादेखि उपकरण थन्किएका हुन् ।

‘भेन्टिलेर र आइसियु सञ्चालनका लागि छुट्टै विशेषज्ञ, ल्याबसहित जनशक्ति चाहिन्छ’, डा। भारद्वाजले भने, ‘त्यसो नहुँदा हाल अछाममा गम्भीर खाले कोरोना बिरामीलाई भेन्टिलेटर र आइसियुमा राखेर उपचार गर्न सकिएको छैन ।’

जिल्लामा हाल आवश्यक मात्रामा अक्सिजनको समेत अभाव रहेको उनले बताए । अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल जिल्लामा ल्याइएका भेन्टिलेर र आइसीयु उपकरण सञ्चालनका लागि पहल गरिने बताउछँन् ।

अछाममा कोरोनाका मात्रै नभई अन्य प्रकृतिका भेन्टिलेर र आइसीयुमा राखेर उपचार गर्नुपर्ने बिरामीसमेतलाई कैलालीसहित अन्य भेन्टिलेर र आइसीयु भएका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ ।

अछामसहित सुदूर पहाडका अन्य जिल्लामा समेत यस्तै समस्या छ । हाल जिल्लामा ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्