Logo
Logo

उपत्यकाको निषेधाज्ञामा कडाई, चोकचोकमा विहानैदेखि कडा चेकिङ


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आज (शुक्रबार) देखि थप कडाइ हुने भएको छ ।  प्रहरीले कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने भएको हो ।

आज विहानैदेखि प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकिङलाई कडाई गरेको छ । सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका कारण आजदेखि थप कडाई गर्ने प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भएको थियो ।

निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिने प्रहरीको भनाई छ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए । ‘मास्क नलगाई सडकमा निस्कनेलाई प्रहरीले पक्राउ गर्नेछ ।

काठमाडौं प्रहरीका अनुसार मास्क नलगाई सडकमा निस्केका र निषेधाज्ञा उल्लंघन गर्ने चार सय ८१ जनलाई बिहीबार नै पक्राउ गरिएको थियो । उनीहरूलाई दुई घन्टा ‘होल्ड’ गरी राखेपछि मात्रै सम्झाइबुझाई छाडिएको थियो । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने पाँच सय ८१ चारपांग्रे र नौ सय तीन दुईपांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्