Logo
Logo

कैलालीका निजी अस्पतालले कोरोना वार्ड सञ्चालन गर्ने


हिक्मत बम


धनगढी । कैलालीमा सञ्चालित निजी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि कोरोना वार्ड सञ्चालन गर्ने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा संक्रमणको स्थिति भयावह भएको भन्दै प्रदेश सरकारको सहकार्यमा जिल्लाका निजी अस्पतालले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गर्ने भएका हुन् । प्रत्येक निजी अस्पतालले पाँचदेखि १० बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।

जसअनुसार धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले पाँच-पाँच बेड संक्रमितहरुलाई उपलब्ध गराउने भएका छन् ।

त्यसैगरी अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०÷१० शय्या उपलब्ध गराउने भएका हुन् । जिल्लाका यी अस्पतालले शुक्रबारबाटै सेवा सुरु गर्ने अध्यक्ष जोशीले जानकारी दिए । निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ ।

सामान्य प्रकृतिको संक्रमितका लागि प्रति दिन प्रति बिरामीको उपचार खर्च तीन हजार पाँच सय र जटिल लक्षण भएका विरामीको हकमा सात हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्