Logo
Logo
भयावह बन्दै कोरोना

सरकारी संयन्त्रले धान्न सकेन, आफैं बच्नुको विकल्प रहेन


प्रदीपराज दाहाल


काठमाडौं । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्याे । सर्वसाधारणलाई अपिल गर्दै जारी गरिएको विज्ञिप्तमा कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको उल्लेख गरिएको थियो । संक्रमणका कारण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको र संक्रमितलाई अस्पतालमा शय्या दिन नसकिने स्वीकार गरिएको थियो ।

विज्ञिप्तमा गरिएको अपिलका अनुसार नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै मन्त्रालयले नागरिक स्वयंलाई संवेदनशील हुन आग्रह गरेको हो । यसको मतलब सरकारी संयन्त्रले अब महामारी नियन्त्रण एक्लैको प्रयासमा गर्न नसक्ने भएको छ ।

सरकारको अपरिपक्व निर्णय र अदूरदर्शीका कारण सबैभन्दा ठूलो समस्या नागरिकले भोगिरहेको निष्कर्ष निस्किन थालेको छ । विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सक नै सरकारले बेलैमा निर्णय गरेको भए संक्रमणको अवस्था कम गर्न सकिने थियो भन्दै सरकारप्रति नै आरोप लगाइरहेका छन् ।

खासमा अहिले मुलुकको अवस्था के हो ?
पछिल्लो तथ्यांकअनुसार नेपालको कोरोना संक्रमण दर भारतको जस्तै अघि बढेको महामारी विज्ञहरुले बताएका छन् । संक्रमित संख्या, पोजिटिभिटी दर र मृत्युदरमा नेपालले भारतलाई पछ्याएको तथ्यांकले देखाएको छ ।

शुक्रबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । ३ हजार ८ सय १३ जना आइसोलेसनमा छन् । अवस्था भयावह हो वा होइन हेर्नका लागि सुरुमा देशभर आइसीयु र भेन्टिलेटरमा रहेको संख्यालाई हेरौँ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय ३१ जना आइसियु र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । बागमतीमा आइसियुमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् ।

प्रदेश १ मा ४० जना आइसियु र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा ८४ जना आइसियु र २० जना भेन्टिलेटरमा छन् । कर्णाली प्रदेशमा २७ जना आयुसियु र ७ जना भेन्टिलेटरमा छन् भने सुदुरपश्चिम प्रदेशमा २२ जना आइसियु र ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

कञ्चनपुरको महाकाली अस्पतालमा पछिल्लो एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ जनाको मृत्यु भयो । बिहीबारसम्म ६५ जना संक्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजनसँगै परीक्षण किटको पनि अभाव देखिएको छ ।

सीमामा कडाई छैन । भारतबाट नेपाल प्रवेश गरेका सहजै घर पुगिरहेका छन् । आइसोलेसन, क्वारेन्टिनमा बसेका छैनन् । ट्राभल हिस्ट्री हेर्ने र कन्ट्याक्ट ट्रेसिङ भएका छैनन् ।

विभिन्न सरकारी अस्पताल भरिएका छन् । हवाई उद्दारले समेत माग धान्न नसक्ने अवस्था आउन थालेको छ ।

चिकित्सक नै संक्रमित
विभिन्न जिल्लामा सरकारले कोरोनाले पुर्याएको क्षतिका बारेमा धेरै कुरा सार्वजनिक नगरेपनि सञ्चारमाधयमले वस्तुस्थिति बाहिर ल्याउने क्रम जारी छ । बाँकेको नेपालगञ्ज अस्पताल, भेरी अस्पताल दयनीय अवस्थामा गुज्रिरहेको छ ।

संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी नै उपचारमा खटिएका छन् । कोही त पीपीई सेट पनि लगाउन पाएका छैनन् । पीपीई सेट लगाउने समयमा कसैको ज्यान पो बाँच्छ कि भन्दै उनीहरू मास्क र गाउनको भरमा उपचार गरिरहेका छन् । अहिलेको अवस्थामा चिकित्सक नै बिरामी परे वा भोलि कुनै दुःखद खबर आउन थाले भने के गर्ने ? सरकारले ध्यान दिएको पाइँदैन ।

स्वास्थ्य सामग्रीको अभाव हुँदै
स्वास्थ्य सेवा विभागले एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किटलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको जनाएको छ । विभागलाई विश्व स्वास्थ्य संगठन, स्वीस दूतावासलगायत विभिन्न दातृ निकायले प्रदान गरेको र सरकार स्वयंले खरिद गरेको किटले एक महिनासम्म धान्ने विभागले जनाएको छ ।

संक्रमितको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री अभाव भएको छ । काठमाडौं बाहिरका अस्पतालमा परीक्षण किट र स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्रीसमेत अभाव हुन थालेको छ ।

सामग्रीको अभाव हुने देखिएपनि सरकार अझै पनि दातृ निकायको भरमा छ । २०७६ माघ २८ देखि ०७८ वैशाख १० गतेसम्म स्वास्थ्य सेवा विभागमा विभिन्न दातृ निकाय तथा संस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री मौज्दात छ । त्यसैका आधारमा अहिलेसम्म स्वास्थ्य क्षेत्र टिकिरहेको छ ।

निषेधाज्ञा बन्यो निष्प्रभावी
सरकारले बिहीबारदेखि काठमाडौं उपत्यका लगायत उच्च संक्रमण भएको जिल्लामा कतै लकडाउन र निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञामा सर्वसाधारण घरमै बस्ने र अहिलेको संक्रमणको चेन ब्रेक हुने अपेक्षा सरकारले गरेको थियो ।

तर, सरकारले सोचे अनुरुप संक्रमणको चेन ब्रेक भएको छैन । दुई दिनमा काठमाडौैं उपत्यकामा अत्यासपूर्ण संक्रमितको संख्या पुगेको छ । दैनिक तीन हजार संक्रमित काठमाडौं उपत्यकामा थपिनुले अवस्था भयावह उन्मुख छ ।

अब के गर्ने ?
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिलाई आधार मान्ने हो भने सरकारले हात उठाएको छ । अहिलेको केही गर्नसक्ने अवस्था देखिँदैन । अर्को रूपमा हेर्ने हो भने सरकारले नागरिकसँग पूर्ण रूपमा सहयोगको अपेक्षा गरेको छ ।

यस्तै अवस्था रहे भारतले भोगिरहेको समस्या सिंगो नेपालले भोग्ने छ । यो संकटबाट बच्न नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्