Logo
Logo

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने


दृष्टि संवाददाता


काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो ।

सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।

बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ ।
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ ।

गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।

प्रदेश नम्बर २ को पर्सामा मात्र निषेज्ञाधा छ । बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा छ । काभ्रे र मकवानपुरलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएको जिल्लाको सूचीमा राखिसकेको छ । यी जिल्लामा पनि निषेधाज्ञाको तयारी भइरहेको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्