Logo
Logo

कोरोना उपचारमा आत्मसमर्पण : ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् ।

यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार हेरचाहका लागि शय्या उपलब्ध गराउन नसक्ने बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा २२ ओटा जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेकाले श्य्या उपलब्ध गराउन नसकिने भन्दै नागरिक आफै संवेदनशील हुन भनिएको छ ।

नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर बढ्दै गएको छ । गएको १ सातामा मात्रै कोरोनाका कारण १६२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित हुनेको संख्या ५ हजार नाघिरहेको छ ।

अघिल्लो वर्ष मङ्सिरपछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई दोहोरो अंकमा झरेकामा चैतबाट दोस्रो लहर शुरू भएको संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार पछिल्लो समय कोरोनाको संक्रमण द्रुतगतिमा युवा पुस्तामा समेत फैलिरहेको छ । अघिल्लो वर्ष देखिएको कोरोनामा विशेक्ष गरी वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएकोमा अहिले नयाँ भेरिएन्टको संक्रमण युवा र किशोरहरूमा समेत बढी नै देखिएको छ । ‘भर्खरका युवाहरू पनि गम्भीर बिरामी भएर अक्सिजनको सहायताले उपचार गर्नु परिरहेको छ, अबका केही दिन चुनौतीपूर्ण हुने भएकाले सरकार तथा नागरिक सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्नेछ,’ उनले भने ।

संक्रमण बढ्दै गएको संकटको घडीमा सरकारले शय्या उपलब्ध गराउन नसक्ने भनी गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा चौतर्फी आलोचना भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै सरकारको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार बताउँदै नागरिकको जीवनप्रति खेलबाड गरेको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमार्फत कांग्रेसले बेड छैन भन्नु लाचार र लज्जास्पद अभिव्यक्ति भएको भन्दै युद्धस्तरमा समाधान खोज्न अपील गरेको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्