Logo
Logo

उपत्यकामा निषेधाज्ञा आजदेखि थप कडाइ


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यका लगायतका केहि स्थानमा आजदेखि जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञा आजदेखि थप कडा पारिने भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आज निषेधाज्ञामा थप कडाई गर्ने बताए ।

उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको उनको भनाई छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसबारे थप निर्णय गर्न लागेको हो ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो । ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । आजदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ’ प्रजिअ कालीप्रसाद पराजुलीले भने ।

पछिल्लो दिन नेपालमा कोरोना भाइरस संक्रमण दर दिनदिनै बढीरहेको छ । सरकारले कोरोना संक्रण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै, कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ ।

केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने भनिएको छ । उक्त कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उल्लेख छ ।

काठमाडौंँ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको उल्लेख छ ।

आज सार्वजनिक ती निर्णयमा आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्नेलगायत रहेको उपप्रधानमन्त्री एवं केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालययले जनाएको छ ।

काठमाडौ उपत्यकाका हकमा पर्यटन र अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाका हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकाय सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने, होम क्वारेन्टिनमा बसेकाहरूका सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने, होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल तिनका देश पठाइने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

पत्रकारलाई सूचना विभागको पास अनिवार्य
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सिसिएमसी बैठकका निर्णय शनिबार सार्वजनिक गरिएको हो ।

निषेधाज्ञामा पत्रकारलाई पनि थप कडाइ गरिएको छ । काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ । प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो।

यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्