आइसीयु नपाएरै जान्छ संक्रमितको ज्यान « Drishti News – Nepalese News Portal
Logo

आइसीयु नपाएरै जान्छ संक्रमितको ज्यान


दृष्टि संवाददाता



काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा शुक्रबार बुटवलका एक पुरुषको मृत्यु भयो। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका ती संक्रमितलाई बेड खाली भएपछि आइसीयुमा सार्ने भनेर इमरजेन्सीमै राखिएको थियो। तर गम्भीर अवस्थाका ती संक्रमितले अक्सिजनका भरमा मात्रै मृत्युसँग लड्न सकेनन् ।

रुपन्देहीको देवदह नगरपालिकी ४९ वर्षे संक्रमित महिलाको पनि उपचार नपाएरै ज्यान गयो। संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो ।

ती महिलाका श्रीमान् वडाध्यक्ष भएकाले नगर प्रमुख हिराबहादुर खत्री लगायतले बुटवल भैरहवा, काठमाडौ र चितवनका अस्पतालमा आइसीयु बेडका लागि हारगुहार गरे ।

कुनै सीप नलागेपछि प्रादेशिक अस्पताल बुटवल लगियो। ‘उहाँको अवस्था नाजुक थियो । तत्कालै आइसीयुमा राख्नुपर्ने बिरामीलाई अक्सिजनले मात्रै बचाउन सकिएन’ प्रादेशिक अस्पतालका डाक्टर बिष्णु गौतमले भने ।

‘उच्च ज्वरो र श्वास फेर्न समस्या भएको बिरामीलाई न आईसीयु न अक्सिजन, बिरामी छटपटाइ रहँदा निरीह भएर हेर्नुपर्ने कस्तो बिडम्बना ’ ती महिलाका श्रीमानले भने। यो यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्