Logo
Logo

आज चौथो राष्ट्रिय सूचना प्रविधि दिवस


दृष्टि संवाददाता



काठमाडौं । आज (आइतबार) चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिवसको अवसरमा एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश पनि जारी गरेका छन् । मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको बताएका छन् ।

मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको जारी सन्देशमा उल्लेख छ ।

सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा सूचना प्रविधि क्षेत्रको विकासमा सहज पहुुँच पुर्‍याउन सरकारले संसदमा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको गुरुङले बताएका छन् ।

‘सूचना महामार्ग’ निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको, सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चत गर्ने र ती स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउनेको लागि पनि बजेटको व्यवस्था गरेको भन्दै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् । प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्