Logo
Logo

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको हुन् ।

आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुन एक दिनअघि उनले आइतबार बिहान राजीनामा दिएका हुन् ।
नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले आफूले राजीनामा दिएको उनले बताएका छन् । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल बनेको छ ।

मुख्यमन्त्री पोखरेलले किन दिए राजीनामा ?
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि रहेको थियो ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेका थिए । प्रदेशसभा अहिले ८१ सदस्यीय रहेको छ । वैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।

पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक परेको थियो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई फ्लोर क्रस हुनबाट कसरी रोक्ने भन्ने एमालेमा चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्