Logo
Logo

मुख्यमन्त्रीको राजीनापछि नयाँ मन्त्रीहरु अन्योलमा


दृष्टि संवाददाता



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनमा दिएपछि जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अन्योलमा परेका छन् ।

उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । मुख्यमन्त्री पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि जसपाका बागीहरुको मन्त्री पद एक साता पनि टिक्न सकेन ।

जसपा नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारीसमेत गरेका थिए ।

जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेका थिए । तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आइतबार बिहानै अकस्मात राजीनामा दिएका हुन् ।

पार्टीको निर्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए । समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए ।

पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद जानुका साथै अब मन्त्री पद पनि गुम्न पुगेको हो । उनीहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा उनीहरु पार्टीका शीर्ष नेताहरुसँग परामर्शमा जुटेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्