Logo
Logo

भेरी अस्पतालको व्यथा: बेड संख्या १४२, संक्रमित २९२


दृष्टि संवाददाता


नेपालगन्ज । बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको उनीहरूले बताए ।

‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा। राजन पाण्डेले भने, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।

भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् । जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘स्थिति धेरै गाह्रो भइसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’

अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५र२० जनासम्म बिरामी हेर्न सक्छन् । तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलसम्म निगरानी गरिरहनुपर्छ,’ नर्सिङ अधिकृत शर्माले भनिन् । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी बिरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताए । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर, क्रिटिकल बिरामी आएपछि बेड थपेर राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थिति भयावह भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीले आराम गर्न पाएका छैनन् । बिरामीको सेवामै छन् ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्