Logo
Logo

कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् । बाँकेका कोरोना सं‌क्रमण सम्बन्धी फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले जनाए अनुसार उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको हो । त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृत्यु भएको हो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् । उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृत्यु भएको हो ।

त्यस्तै, कोरोना संक्रमणका कारण नेपालगञ्ज मेडिकल कलेजमा पनि ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते कोरोना पोजिटिभ देखिएपछि १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो ।

अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको छ । उनको वैशाख ५ गते कोरोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना पोजिटिभ आएको थियो भने राति साढे १ बजे उनको मृत्यु भएको अस्प्तालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्